सगरमाथामा बेपत्ता दावा शेर्पा छ दिनपछि भेटिए, हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइँदै

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।   सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन् ।

उनको हातका औँलामा हिउँका कारण क्षति पुगेको छ भने उपचारका लागि अहिले काठमाडौँ ल्याइँदै छ । बुधबार काठमाडौँस्थित अल्टिच्युड एयरको हेलिकोप्टर खोजी तथा उद्धारका लागि सगरमाथा क्षेत्रमा परिचालन गरिएको थियो ।

 दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा जेठ १५ (शुक्रबार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएको उनी आबद्ध हिमालयन ट्राभर्स एडभेन्चर प्रा.लि.ले जनाएको छ ।