भारतीय प्रधानमन्त्री मोदीले भने : ‘नेपालसँग सहकार्य विस्तार गर्न भारत तयार छ’
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र दीर्घकालीन विकासका लक्ष्य हासिल गर्न नजिकको सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भएको भेटवार्तापछि प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेका हुन्। उनले भेटलाई सकारात्मक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै सहकार्यको प्रस्तावलाई स्वागतयोग्य भनेका छन्।
मोदीले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि आपसी सहकार्य गर्ने लामिछानेको अभिप्रायलाई समर्थन गर्दै त्यसलाई आफूले हार्दिक रूपमा स्वीकार गरेको बताएका छन्। उनका अनुसार भारतले नेपाललाई ‘छिमेकी पहिलो नीति’ अन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा लिएको छ।
उनले दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य विस्तार गर्ने भारतको प्रतिबद्धता रहेको पनि स्पष्ट पारेका छन्।
