पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: उडान भर्न फ्लाइ दुबई इच्छुक
कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मंगलबार भेटवार्ता गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताउनुभएको महानगर प्रमुख आचार्यले जानकारी दिए ।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए ।
विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएकोसमेत बताए ।
