प्रशासनिक सूचनापछि नदी किनारका बस्तीमा सामान सार्ने चटारो

काठमाडौँ । राजधानीका नदी किनार तथा अतिक्रमित क्षेत्रका बस्ती हटाउने प्रशासनिक तयारी तीव्र बनेसँगै प्रभावित क्षेत्रका बासिन्दाले घरायसी सामान सार्न थालेका छन्। शुक्रबारदेखि संरचना हटाउने कार्य सुरु हुने संकेतपछि विभिन्न स्थानमा चहलपहल बढेको हो।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न स्थानीय तहअन्तर्गत नदी किनारका सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बनाइएका सुकुम्वासी तथा जोखिमयुक्त बस्ती खाली गर्न आग्रह गरेको थियो। सम्भावित विपद् जोखिम न्यूनीकरण तथा सार्वजनिक क्षेत्र संरक्षणका लागि यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।

सूचनापछि कपनको साततले क्षेत्रस्थित धोबी खोला करिडोर आसपासका बासिन्दाले घरभित्रका सामग्री अन्यत्र सार्न थालेका छन्। त्यस्तै शिक्षण अस्पताल पछाडिको गजेन्द्र बस्तीमा पनि घरटहरा खाली गर्ने क्रम तीव्र बनेको देखिएको छ।

प्रशासनले प्रभावित क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई साँझसम्म संरचना खाली गरी स्थान छाड्न निर्देशन दिएको जनाएको छ। यससँगै बस्ती क्षेत्रमा अन्योल, हतारो र स्थानान्तरणको तयारी एकसाथ देखिएको छ।