“तपाईँहरूले लालपुर्जा पाउनु पर्छ”: बालेन शाह

झापा

माघ २० गते,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आफ्नो चुनावी प्रचारका लागि झापा ५ मा पुगेका छन् । उनले त्यहाँ पुग्नासाथ आज केही स्थानीयसँग संवाद गरे ।

यसअघि सुदूरपश्चिम भ्रमणका क्रममा मुखै नखोलिकन घन्टीमात्रै हल्लाएर फर्केको भन्दै बालेन आलोचनामा परेका थिए । झापामा भने उनी आफ्ना मतदाताहरूसँग केहीबेर बोले । उनले झापा कमलगाउँपालिकाका सुकुमबासीको गुनासो सुनेर जवाफसमेत दिएका थिए ।

सुकुमबासी युवाहरूको मुख्य चासो बालेनले जितेको खण्डमा आफूहरूको बस्तीमा डोजर छिराएर उठीबास लगाउने हुन् कि भन्ने थियो । बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए ।

उनले भने, ‘काठमाडौंको खोलाछेउको सार्वजनिक जग्गा हो । त्यो खोलाकै जग्गा हो । उहाँहरूकै ज्यानको सुरक्षाका लागि हटाएका हौँ । बाढी आउँदा बस्तीभन्दा माथिसम्म आउँछ । बर्खा लाग्दा असारमा निकालेर अर्को ठाउँ लैजानुपर्छ । जोखिममा रहेकालाई ज्यान जोगाउन सेफ ठाउँमा राखिएको हो । तर, डोजरको गलत न्यारेटिभ बनाइयो ।’