काठमाडौँलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छः कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्ने बताएकी छन् । 

महानगरपालिकाद्वारा आयोजित ‘हेरिटेज रन’ का अवसरमा बोल्दै उनले नागरिक, सम्पदा र संस्कृतिलाई केन्द्रमा राखेर महानगरले आफ्ना कार्यक्रमहरू अघि बढाइरहेको स्पष्ट पारेकी हुन् । काठमाडौँ महानगरपालिकाद्वारा वसन्तपुर क्षेत्रबाट सुरु गरिएको १० किलोमिटर लामो ‘हेरिटेज रन’ मा विभिन्न उमेर समूहका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बिहानीपखको काठमाडौँको मौलिक सुगन्ध, भजन–कीर्तन, परम्परागत खाजा र मन्दिरहरूको वातावरणले नै सहरलाई जीवन्त बनाउने भन्दै पैदल वा दौडिएर यात्रा गर्दा सहरसँग आत्मीय सम्बन्ध स्थापित हुने उल्लेख गरिन् । 

हेरिटेज रनमा हजुरबुवा–हजुरआमादेखि नातिनातिनासम्मका तीन फरक पुस्ताको उत्साहजनक सहभागिता देखिएको थियो । डंगोलकाअनुसार ७५ वर्षका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मले १० किलोमिटरको दूरी पार गरेका थिए । अनलाइन दर्ता खुला गरिएको २४ घण्टाभित्रै निर्धारित कोटा पूरा भएपछि दर्ता प्रक्रिया बन्द गर्नुपरेको जानकारी दिँदै उनले नागरिकको यस्तो अभूतपूर्व चासोले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रमहरू थप गर्न ऊर्जा मिलेको बताइन् । यस हेरिटेज रनलाई महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गते (अक्टोबर ३० देखि नोभेम्बर १) सम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’ को प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा समेत जोडेको छ । खेलकुद, साहित्य, कला र सम्पदालाई चलचित्रमार्फत एकाकार गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको डंगोलले जानकारी दिइन् । 

उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले आयोजना गरेको हेरिटेज रन केवल दौड प्रतियोगिता होइन, काठमाडौँको संस्कृति, सम्पदा र जनजीवनसँग जोडिने अवसर हो । काठमाडौँका मन्दिर, गल्ली, परम्परा, संगीत र खानपानले हाम्रो मौलिक पहिचान झल्काउँछन् । त्यसैले हाम्रो उद्देश्य दौडिनु मात्र नभई काठमाडौँलाई महसुस गर्नु र यसप्रति अपनत्व बढाउनु हो ।’