निर्वाचन सफल बनाउन सरकार र शीर्ष दलबिच समझदारी

काठमाडौँ 

पुष ८ गते,

सरकार र शीर्ष तीन दलबिच फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार चुनावको वातावरण बनाउन बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी पनि बनेको छ। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ उदृत गर्दै पोखरेलले भनेका छन्।

राष्ट्रपति  पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए।