मालपोत र प्रशासन कार्यालयबाट २९ जना बिचौलिया पक्राउ

विराटनगर

पुष ८ गते,

लेखापढी व्यवसायी भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरीले मालपोत र प्रशासन कार्यालय, माेरङअगाडि बस्ने २९ जना बिचौलियालाई पक्राउ गरेको छ।

सिडिओलाई समेत बुझाउनुपर्छ भन्दै सेवाग्राहीसँग घुस माग्ने र नदिएमा सरकारी कार्यालयमा सेवाग्राहीलाई असहज बनाउने, काममा अवरोध पार्ने र अनावश्यक दुःख दिने गरेको प्रत्यक्ष जानकारी पाएपछि मोरङका सिडिओ युवराज कट्टेलको निर्देशनमा  मंगलबार प्रहरीले २९ जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार एकजना लेखापढी व्यवसायी बताउनेले एक सेवाग्राहीसँग सिडिओलाई पाँच हजार बुझाउनुपर्ने भनेर घुस मागेको एसएमएस सिडिओ कट्टेलसम्म पुगेको थियो। त्यसपछि उनले लेखापढी व्यवसायीहरूमाथि निगरानी बढाएर प्रहरीलाई नियन्त्रणमा लिन लगाएका थिए।   

पक्राउ परेका लेखापढी व्यवसायी बताउने बिचौलियाहरूमा मालपोत कार्यालय विराटनगरका २० जना र जिल्ला प्रशासन कार्यालय मोरङका ९ जना छन्। पक्राउ परेका बिचौलियाहरूसँग सोधपुछ भइरहेको र दोषी देखिए कानुनअनुसार घुसलेनदेन कसुरमा कारबाही गरिने मोरङ प्रहरी प्रवक्त्ता कोपिला चुँडालले बताइन्।