मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित 

जनकपुर 

पुष ६ गते,

मधेश प्रदेश सभाको सभामुख पदमा जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य तथा पार्टीका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । 

प्रदेश सभाको आज बसेको बैठकले यादवलाई सभामुख पदमा निर्वाचित गरेको हो। बैठकमा उपस्थित ९६ जना प्रदेश सभा सदस्यमध्ये यादवले ७२ मत प्राप्त गरेका छन् भने उनको विपक्षमा २४ मत परेको छ। सभामुख निर्वाचनको घोषणा बैठकको अध्यक्षता गरेका उपसभामुख बविता राउत ईशरले गरेकी थिइन।

प्रदेश सभामा कायम रहेका १०७ सदस्यहरूमध्ये सभामुख निर्वाचित हुन बहुमतका लागि ५४ मत आवश्यक पर्ने व्यवस्था छ।

यादव बहुमतका साथ निर्वाचित भएपछि नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापाले प्रस्ताव गरेको तथा एमालेकै प्रदेश सभा सदस्य त्रिलोकी प्रसादको सभामुख पदका लागि दर्ता भएको उम्मेदवारीमाथि छलफल आवश्यक नरहेको उपसभामुखले घोषणा गरिन्।

सात दलको समर्थनमा सभामुख पदमा निर्वाचित यादवले यसअघि नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष, पत्रकारको रूपमा काम गरेका थिए ।