जसपा नेपालका रामअशिष यादवलाई मधेशकाे सभामुख बनाउने सत्ता गठबन्धनको सहमति
जनकपुर
पुष ५ गते,
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवलाई मधेस प्रदेश सभाको सभामुख बनाउने विषयमा सत्ता–रुढ सातदलीय गठबन्धनबीच सहमति भएको छ। शनिबार बिहान बसेको सत्ता–रुढ सातदलीय गठबन्धनको बैठकले यादवको नाममा सहमति गरेको हो। यसबारे जानकारी दिँदै जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनका सबै दल सहमत भएको बताए।
मधेस प्रदेश सभा सचिवालयले शुक्रबार शनिबार दिउँसो ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका सार्वजनिक गरेको थियो। सोही कार्यतालिकाअनुसार सत्ता गठबन्धनले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनले आज दिउँसो करिब १ बजे उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
यसअघि पदअनुसारको आचरण नगरेको आरोपमा नेपाली कांग्रेससहित सात दलले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदबाट हटाएका थिए। हाल उपसभामुख बबिता कुमारी राउत इशरले प्रदेश सभाको बैठक सञ्चालन गर्दै आएकी छन्। रिक्त सभामुख पदका लागि भोलि निर्वाचन हुने कार्यतालिका रहेको छ भने आजै उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिनेछ।
