महँगी नियन्त्रण, पुनर्वास र संगठन स्वतन्त्रताबारे सरकारलाई नेकपाको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समसामयिक आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न नीतिगत माग अघि सारेको छ। आइतबार जारी विज्ञप्तिमार्फत पार्टीले बजारमा बढ्दो मूल्यवृद्धि नियन्त्रण, सुकुम्वासी व्यवस्थापनमा मानवीय दृष्टिकोण अपनाउन तथा विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन आग्रह गरेको हो।
विज्ञप्तिमा हाल विभिन्न स्थानमा सुकुम्वासी परिवारहरूलाई वैकल्पिक व्यवस्था बिना नै हटाउने र अस्थायी बासस्थान भत्काउने कार्य भइरहेकोप्रति असन्तुष्टि जनाइएको छ। यस्तो अभ्यासले प्रभावित परिवारको जीवनयापनमा प्रतिकूल असर परेको उल्लेख गर्दै पुनर्वासको स्पष्ट योजना बिना विस्थापन नगर्न सरकारलाई सुझाव दिइएको छ।
पार्टीले सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिले सीमान्तकृत समुदायको अवस्था थप जटिल बनाउने र राज्यप्रति विश्वास कमजोर पार्ने जोखिम रहेको उल्लेख गरेको छ। यस सन्दर्भमा सरकारलाई समावेशी र उत्तरदायी नीति अवलम्बन गर्दै प्रभावित समुदायप्रति संवेदनशील बन्न आग्रह गरिएको छ।
त्यसैगरी, विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सम्भावित प्रयासप्रति पनि पार्टीले असहमति जनाएको छ। संगठित हुने अधिकार संविधानद्वारा सुनिश्चित भएको उल्लेख गर्दै यस्ता कदमले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने तर्क प्रस्तुत गरिएको छ। साथै, श्रमिकसँग सम्बन्धित ट्रेड युनियन गतिविधिमा प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा असर पार्न सक्ने चेतावनी दिइएको छ।
आर्थिक पक्षतर्फ पार्टीले पछिल्लो समय बजारमा मूल्यवृद्धि र कालोबजारी बढेको दाबी गर्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमन तथा कारबाही आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा वर्तमान सरकारप्रति सुशासन, सामाजिक न्याय र आर्थिक प्रगतिका अपेक्षा रहेको उल्लेख गर्दै सकारात्मक पहलहरूको स्वागत गरिएको छ। तथापि, नीति निर्माण र कार्यान्वयन प्रक्रियामा देखिएको एकपक्षीय प्रवृत्तिप्रति भने चिन्ता व्यक्त गरिएको छ।

