नवनियुक्त मुख्यमन्त्री यादवद्धारा तीन मन्त्री नियुक्त, एमालेभित्र असन्तुष्टि

जनकपुर 

कार्तिक २४ गते,

नवनियुक्त मुख्यमन्त्री सरोज यादवले तीन मन्त्री नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधार (३) बमोजिम आज बिहान मुख्यमन्त्रीमा नियुक्त भएका यादवले आजै तीन जना मन्त्री नियुक्त गरेका हुन् । एमालेबाट लखन दास, नेपाल संघीय समाजवादीबाट विमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन ।

यता, प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि एमालेभित्रैका सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।एमालेका प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीको नियुक्तिबारे आफूहरूलाई थाहा नभएको र आज  बिहान मात्रै थाहा भएको बताए ।

‘संविधानको धारा १६८को उपधारा २ अनुसार नै अगाडि बढ्नुपर्छ भनेर हिजो साँझसम्म हाम्रो छलफल भएको थियो । तर आज थाह पाउछु, हाम्रै दलका नेता मुख्यमन्त्रीमा नियुक्त हुनुभो । यसमा कहाँबाट चलखेल भयोरु कहाँ को को परिचालित भए मलाई थाहा छैन तर यो विषयमा पार्टीभित्र छलफल गर्नुपर्छ’,महतोले भने ।

 नेपाली कांग्रेसले पनि मुख्यमन्त्री नियुक्तिको विरोध गरेको छ। संविधानको धारा १६८को उपधारा २ अनुसार नै  मुख्यमन्त्री नियुक्त हुनुपर्ने अवस्थामा प्रदेश प्रमुखले  संविधान विपरित उपदाफा ३ को प्रयोग भएको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बताए ।