स्थानीयद्वारा मेलम्ची खानेपानीकाे मुहानमा अवराेध
काठमाडौँ
कार्तिक २१ गते,
राजधानी काठमाडौंमा आउने मेलम्ची खानेपानीकाे मुहान स्थानीय हेलम्बुवासीले बिहीबारदेखि बन्द गरिदिएका छन् ।
मुहानस्थल अम्बाथाङमा जम्मा भएका स्थानीयले एक्स्काभेटर प्रयाेग गरेर काठमाडौं जाने पानीकाे मुहान मेलम्ची खाेलामा खाेलेका हुन् । हेडवर्क्सकाे सुरुङमा बन्द गरेर पानीकाे बहाव खाेलामा छाेडिएकाे स्थानीय राजकुमार भण्डारीले जानकारी दिए ।
सञ्चारकर्मीसमेत रहेका स्थानीय विष्णु खड्का क्षेत्रीकाे अगुवाइमा मुहान पुगेका स्थानीयले मेलम्ची खानेपानीमा अवराेध गरेकाे भण्डारीले बताए । ०८१ असाेज २१ गते स्थानीय बाढीपीडित संघर्ष समिति र तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवबिच भएको १०बुँदे समझदारी एउटा पनि कार्यान्वयन नभएकाले बाध्य भएर मुहानकाे सुरुङ बन्द गर्नुपरेकाे सञ्चारकर्मी खड्काले बताए ।
राजधानीवासीलाई धमाधम पानीको महसुल लिइएको, तर सम्झाैताअनुसार मुहान क्षेत्रका प्रभावित स्थानीय सरकारलाई २० प्रतिशत राेयल्टी नदिएकाले पानीको मुहान बन्द गरिएको स्थानीय बताउँछन् । हेलम्बु गाउँपालिकाले २५ प्रतिशत राेयल्टी माग गरेकाे छ । बन्द अभियानमा स्थानीय सरकार, सबै राजनीतिक दल र संघर्ष समिति सामेल छन् ।
राजधानीवासीलाई परेकाे असुविधाप्रति क्षमा माग्दै बन्दकर्ता स्थानीयले २० प्रतिशत राेयल्टी नबुझाएसम्म मुहानमा अवराेध गर्ने जनाएका छन् । उनीहरूले मेलम्ची खानेपानीअन्तर्गत रहेका विभिन्न समिति, निकाय र तिनका प्रमुखहरूकाे आर्थिक गतिविधि सार्वजनिक गर्नसमेत माग गरेका छन् ।
