बिहारमा पहिलो चरणको मतदान सम्पन्न

राजविराज 

कार्तिक २१ गते,

बिहीबार भारतको बिहार राज्यको विधानसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । बिहीबारको पहिलो चरणको निर्वाचन बिहारका १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा भएको थियो । त्यस क्षेत्रमा उठेका कुल एक हजार ३१४ उम्मेदवारको भाग्य लगभग ३.७५ करोड मतदाताले निर्धारण गर्नेछन् ।

बिहान ७ बजे सुरु भएको मतदान साँझ ६ बजे सकिएको थियो । भारतीय निर्वाचन आयोगले बिहीबार साँझ नै सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो चरणको मतदानमा समग्रमा कुल दर्ता भएको मतदातामध्ये ६४.४ प्रतिशतले मत हाले ।

यसपटकको बिहारको विधानसभा चुनावलाई भारतीय जनता पार्टी (भाजपा)–जनता दल (युनाइटेड) रहेका नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए), राष्ट्रिय जनता दल–भारतीय राष्ट्रिय कंग्रेस सम्मिलित महागठबन्धन तथा प्रशान्त किशोरको नवगठित जनसुराज पार्टीबिचको त्रिकोणीय प्रतिस्पर्धाको रूपमा हेरिएको छ ।

बिहीबार निर्वाचन भएका महत्वपूर्ण क्षेत्रमा भाजपा नेता तथा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी लडिरहेको तारापुर, महागठबन्धनका मुख्यमन्त्री अनुहार र आरजेडी नेता तेजस्वी यादव राघोपुरसमेत उठेका थिए ।

दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ मा गरी तीन दिनपछि निर्वाचन परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।