छठ पर्वमा तराई मधेस महिला फाउन्डेशनद्वारा व्रतालु महिलालाई साडी वितरण
राजविराज
कार्तिक ९ गते,
हिन्दू धर्मावलम्बीहरूको आस्था र श्रद्धाको महान पर्व छठ पर्वको अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपालले आज व्रतालु महिलाहरूमाझ साडी वितरण कार्यक्रम सम्पन्न गरेको छ।
राजविराज नगरपालिका–६ स्थित पुरनि पोखरी महाडमा आयोजित कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले आफ्नै हातबाट महिलाहरूलाई साडी वितरण गर्दै छठी माताप्रतिको आस्था र सामाजिक एकताको सन्देश फैलाइन्।
कार्यक्रममा उपस्थित महिलाहरूले एकअर्कालाई कबिरको टीका लगाउँदै, सन्तानको दीर्घायु, रोगव्याधि नाश र समृद्धिको कामना गर्दै “जय छठी माई” का जयघोष गरेका थिए। अध्यक्ष साहले भन्नुभयो, “छठ पर्व श्रद्धा, स्वच्छता र आत्मबलको प्रतीक हो। यसले महिलाहरूमा धार्मिक ऊर्जा र सकारात्मक सोच बढाउँछ।”
फाउन्डेशनले पछिल्ला ८ वर्षदेखि निरन्तर रूपमा धार्मिक र सामाजिक कार्यक्रमहरू, विशेषगरी छठ पर्वमा, सहयोग र वितरणका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। उपस्थित महिलाहरूले पनि अध्यक्ष साहको सक्रियता र सामाजिक सेवाको प्रशंसा गर्दै फाउन्डेशनको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।
