हायात होटेल बन्द नगर्न व्यवस्थापनलाई सरकारको आग्रह
काठमाडौँ
कार्तिक ९ गते,
राजधानीको पाँचतारे होटेल हायात रिजेन्सीको सेवा बन्द नगर्न व्यवस्थापनलाई सरकारले आग्रह गरेको छ । होटलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालको लागि होटेल बन्द भएको जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै होटेलका सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ । ट्रेड युनियनसँग छलफल भई पुन: सञ्चालनको निर्णय नहुँदासम्म सम्पूर्ण कर्मचारीलाई होटेल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ ।’
होटल बन्द भएको बिषयमा प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटेल व्यवस्थापनसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिएका छन् । उनले होटेल व्यवस्थापनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खनालले भने, ‘तपाईंहरू आत्तिनुपर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी सरकारको तर्फबाट साथमा छौँ । सुरक्षाको व्यवस्था मिलाइन्छ, त्यसैले विचलित नहुनुहोस् र व्यवसायलाई निरन्तरता दिनुहोस् ।’ सरकारले यस विषयमा होटेल व्यवस्थापनसँग आइतबार थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।
यता, होटेल व्यवस्थापनले भने अघिल्ला आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाका कारण तत्काल सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ । मानव स्रोत निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी विज्ञप्तिमा २३ र २४ भदौमा भएको तोडफोड र आगजनीका कारण होटेल संरचनामा क्षति पुगेकाले मर्मत तथा पुनर्निर्माणको कार्य सुरु गर्नुपर्ने उल्लेख छ ।
सरकार र होटेल व्यवस्थापनबिचको आगामी छलफलपछि हायात रिजेन्सीले पुन: सेवा सुरु गर्ने वा मर्मतका काम अघि बढाउने भन्ने विषयमा स्पष्टता आउने अपेक्षा छ ।
