राजनीतिक दबाबमा आरोपित छोडेको विषयमा गृहमन्त्रीको चासो, आईजीपीलाई फोन

सिरहा 

कार्तिक ७ गते,

सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा  सामसुम पार्न खोजिएको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँचका लागि उनले निर्देशन दिएका छन्।

गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् । मिर्चैया नगरपालिका– ३ छड्की टोलको एक परिवारमाथि आक्रमण भएको थियो। पीडित परिवारले आक्रमणमा संलग्न व्यक्तिहरू मध्ये पाँच जना पक्राउ परे पनि राजनीतिक दबाबमा प्रहरीले तीन जनालाई छाडेको आरोप लगाएको छ। दोषी उम्काउन प्रहरीले जाहेरी दर्ता समेत नगरेको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएको स्रोतले बताएको छ।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले आईजीपीलाई फोन गरेर घटनाबारे थप बुझेर प्रक्रिया अगाडि बढाउन भनेका छन्। ‘घटनाबारे बुझ्नु र प्रहरीले के गर्नुपर्ने हो त्यो प्रक्रिया अगाडि बढाउनू,’ गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘जवाफमा प्रहरी प्रमुखले बुझेर प्रक्रिया अगाडि बढाउने जवाफ दिएका छन्।’