निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा प्रमुखलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ

कार्तिक १ गते,

राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आमनागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेका हुन् ।

उनले शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरे ।

छलफलमा अन्तरिम सरकारका प्रधामन्त्री कार्की, अर्थमन्त्रीबाहेक सबैमन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो ।