दलहरू नसध्रिने हो भने जेनजीले अर्को तानाशाही व्यवस्थाको परिकल्पना गर्न सक्छ

यो अवस्था आउनुको कारण र अबको निकासबारे हामीले त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख तथा सहप्राध्यापक डा. ईश्वरीप्रसाद कँडेलसँग संवाद गरेका छौँ ।

वास्तवमा हामीकहाँ राणाशासनको अन्त्यदेखि नै विधिसम्मत तरिकाले स्वतःस्फूर्त रूपमा विकासका प्रक्रिया अगाडि नबढेको भन्ने जनगुनासा व्याप्त थिए नै । त्यसैको परिणामस्वरूप २०५२ सालमा माओवादी सशस्त्र विद्रोह भयो । त्यतिबेला आम जनताको माग र बुद्धिजीवीहरूको बुझाइ यही थियो कि जनताबाट चुनिएर सरकारको जिम्मेवारी लिने हैसियतमा पुगेपछि माननीयज्यूहरूले जनताको इज्जत र प्रतिष्ठा बचाउनुपर्छ । त्यसैका लागि बाह्रबुँदे सम्झौताबाट नयाँ–नयाँ राजनीतिक शृंखला पार गरेर २०७२ सालमा नेपालको संविधान निर्माण भयो । त्यो संविधान निर्माण भएको ठ्याक्कै १० वर्ष पुग्न केही दिन बाँकी हुँदा जेनजी आन्दोलन भयो । यो आन्दोलन हुनुका पछाडि दुईटा कारण छन् । १) राजनीतिज्ञले पात्र प्रवृत्तिका आधारमा शासन चलाउने । २) जनताको चाहना र भावना के–कस्तो छ भनेर राजनीतिक दलका नेताले नसोध्ने र जनतालाई उपेक्षा गर्ने । मूलतः यिनै दुई कारणका पिँधबाट यो आन्दोलन उठेको हो । 

प्राध्यापक भनेको विश्वमै मानिने सर्वशक्तिशाली वर्ग हो । यो वर्गलाई कुनै पनि राजनीतिक दलले आफ्नो साथमा लिएर उनीहरूको बुद्धि र विवेक प्रयोग गरेको देखिएन । किनभने राजनीतिक दलका नेताले बलका आधारमा नीति बनाउने र त्यसैका आधारमा राजनीतिक सत्ता चलाउने अपेक्षा राख्छन्, तर बुद्धिजीवीले बुद्धिका आधारमा नीति बनाउने, नीति र विधिको आधारमा शासन चलाउने अपेक्षा राख्छन् । 

अहिलेसम्म मैले पढेको इतिहासमा यति छोटो समयमा आन्दोलन सकिएको मैले देखेको छैन । अहिलेका राजनीतिक दलहरूले यस आन्दोलनलाई खेलाँचीका रूपमा लिएर ‘यो केही होइन’ भन्ने परिस्थिति पनि सिर्जना भइरहेको छ । 

यतिखेर मुलुक तरल र अत्यन्त संक्रमणकालीन अवस्थामा छ । यसलाई सदुपयोग गर्ने हो भने विज्ञहरूबाट कानुन निर्माण गर्ने र त्यो कानुनका आधारमा शासन चलाउने प्रतिबद्धता राजनीतिक दलहरूले व्यक्त गर्नैपर्छ । आज राजनीतिक दलका नेताले यसो गर्न सकेनन् भने भोलि उनीहरूले नेतृत्व गर्न पाउने त कुरै छाडौँ, आफ्नो ऐतिहासिक विरासतलाई समेत गुमाउन सक्छन्, उनीहरूलाई आफ्नै छोराछोरीले विरोध गर्नेछन् । 

राज्य निर्माणका सवालमा विधिको शासन अनिवार्य छ, बोझिलो शासन आवश्यक छैन । हामीले पहिलादेखि नै भनेको हो— पुगनपुग तीन करोड जनसंख्या भएको ठाउँमा सातवटा प्रदेश आवश्यक छैन । सबै प्रदेश जोड्दा ८५० भन्दा बढी सांसद हुन पुग्छन्, यसलाई राज्यले धान्न सक्दैन, तर राजनीतिक दलका नेताहरूले ‘राजनीतिक उद्योग’ खोल्नुभयो । 

हामीले भनेका थियौँ— आफ्ना कार्यकर्ता भर्ती गर्ने राजनीतिक उद्योग नखोल्नुस् । बरु राजनीति गरेर नीतिगत रूपमा कपडा उद्योग खोल्नुस्, जुत्ता–कारखाना उद्योग खोल्नुस्, फोहोर व्यवस्थापन उद्योग खोल्नुस्, मल उद्योग खोल्नुस् । 

कार्यकर्तालाई खुसी पारेपछि भोट पाइन्छ, राज्य दोहन गरेपछि दाम पाइन्छ भन्ने धारणाले उहाँहरूले राजनीतिक उद्योग खोल्नुभयो । हेर्नुस् त, अहिले जेनजीले गरेको आन्दोलनका क्रममा कतिपयका घरमा पैसा जलेको पनि देखियो । त्यसैले यो आक्रोश आवश्यक थियो । म त भन्छु, बरु समयमै यो आन्दोलन भयो । राजनीतिक दलहरूले हिजो जसरी नै पात्र प्रवृत्तिका आधारमा राजनीति गर्न अब सम्भव छैन ।