म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु (प्रधानमन्त्री कार्की)
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।
आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’
