सामाजिक सञ्जाल तत्काल सञ्चालन गर्न १७ विद्यार्थी संगठनको माग
काठमाडौं । सत्तारुढ दल निकटसहितका १७ वटा विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको बिरोध जनाएका छन् ।
भदौ १९ गते मध्यरातदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको बताएका हुन् ।

‘सामाजिक सञ्जाल र सञ्चारका माध्यम बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी, पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब सत्तरी प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् ।’
