सभापति थापा भन्छन्:‘नेपाली काँग्रेसले जस्तो नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने गल्ती रास्वपाले नगरोस्’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
सभापति थापाले रास्वपाका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्ना नेतासँग प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरे । “सुशासन तपाईँहरूको मुख्य मन्त्र हो,” उनले भने, “हामीले विगतमा हाम्रा नेतालाई ‘भगवान्’ र ‘बा’ बनाएर गल्ती गरिसक्यौँ । पछि सुधारको प्रयास त गर्यौँ, तर निकै ढिला भइसकेको थियो । त्यसैले तपाईँहरूले आफ्नो नेतृत्वलाई सधैँ प्रश्न गर्ने साहस राख्नुहोला ।” उनले चितवन सहरभरि रास्वपाको निलो झन्डा फहराएको र चार हजार प्रतिनिधि बसेर देशको भविष्यबारे छलफल गर्न लागेको क्षण सुखद् रहेको भन्दै महाधिवेशनको सफलताको कामना गरे ।
नयाँ शक्तिले विगतका सबै उपलब्धिलाई नजरअन्दाज गर्न नहुने भन्दै उनले इतिहासको जगलाई भुल्न नहुने प्रष्ट पारे। “निलो झन्डा बोकेर विरोध गर्दै गर्दा विगत ३५ वर्षमा देशमा केही पनि भएन भनेर नभनी दिनुहोला,” सभापति थापाले भने,
मुलुकको मुख्य शत्रु गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको चर्चा गर्दै उहाँले जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली काँग्रेसले सधैँ सशक्त प्रश्न उठाइरहने प्रष्ट पारे । सबै राजनीतिक दलले आ(आफ्नो धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेमा मात्र देशको राजनीति दरिलो हुने र संविधानको रक्षा हुनसक्ने उनले उल्लेख गरे।
