पाल्पामा ८४२ एचआइभी सङ्क्रमित: नियमित औषधि सेवन गर्ने ३५४ जना

पाल्पा । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’ बाट नियमित औषधि सेवन गरिरहेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन् । समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उनको भनाइ छ । नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिंगी र रोजगारीका लागि बिदेसिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उनले जानकारी दिए ।