राप्रपाको अस्तित्वबारे नकारात्मक आकलन नगर्न अध्यक्ष लिङ्देनको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको भविष्यबारे नकारात्मक अनुमान नगर्न आग्रह गरेका छन्।
उनले पार्टी समाप्त हुने वा कमजोर पारिने सम्भावनाबारे गरिएका टिप्पणीहरूलाई अस्वीकार गर्दै त्यस प्रकारका धारणा यथार्थपरक नभएको बताएका हुन्।सामाजिक सञ्जालमार्फत व्यक्त धारणा अनुसार उनले पार्टीको निर्माण दीर्घकालीन संघर्ष, त्याग र युवा अवस्थाको मेहनतबाट भएको उल्लेख गर्दै एकाध निर्वाचन परिणामका आधारमा राजनीतिक शक्ति समाप्त नहुने तर्क अघि सारेका छन्।
अध्यक्ष लिङ्देनले पछिल्ला चुनावी परिणामले पार्टीलाई आत्ममूल्यांकन गर्ने अवसर दिएको उल्लेख गर्दै आन्तरिक कमजोरी सुधारमार्फत संगठन पुनर्संरचना गरिने बताए। साथै, पार्टी आफ्ना मूल वैचारिक एजेन्डाहरू-संवैधानिक राजसंस्था, हिन्दु राष्ट्रको अवधारणा तथा प्रशासनिक दृष्टिले जटिल मानिएको प्रदेश संरचनाबारेको धारणाबाट पछि नहट्ने संकेत पनि दिएका छन्।
उनका अनुसार आवश्यक सुधारसहित संगठनलाई पुनर्गठित गर्दै आगामी दिनमा सशक्त रूपमा अगाडि बढ्ने तयारी भइरहेको छ।
