नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत

काठमाडौँ । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्कीको कूटनीतिक उपस्थिति विस्तार गर्ने सन्दर्भमा दूतावास स्थापना गर्न सकारात्मक धारणा व्यक्त गरेका छन्।

इस्तानबुलमा भएको नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटवार्ताका क्रममा उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता पहल आवश्यक रहेको औँल्याए। सो अवसरमा शिक्षा, व्यापार तथा संसदीय सहकार्यका क्षेत्रहरूमा सहयोग विस्तारबारे समेत छलफल भएको जनाइएको छ।

टर्की सरकारद्वारा नेपालका लागि उपलब्ध गराइँदै आएको सीमित शैक्षिक छात्रवृत्तिको दायरा बढाउने तथा दुई देशबीचको व्यापारिक आदानप्रदान विस्तार गर्ने विषयमा पनि सकारात्मक प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त भेट नारायण प्रसाद दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले अन्तर व्यवस्थापिका संघ को १५२ औँ महासभामा सहभागिता जनाउने क्रममा भएको हो।

भेटका क्रममा अध्यक्ष दाहालले संसदीय तहबाट सहकार्य अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउनु पर्ने धारणा राखेका छन्। साथै, संसदीय अनुभव आदानप्रदान, औपचारिक भ्रमण र संसदीय मैत्री समूह गठनमार्फत संस्थागत सम्बन्ध विस्तारमा नेपाल पक्ष इच्छुक रहेको पनि उनले स्पष्ट पारेका छन्।