प्रधानमन्त्री शाहलाई नेकपा नेताको पत्र
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य हस्त शाहीले हुम्ला जिल्लाको अदानचुली र सर्केगाडबीच पर्ने मनेलेख पहाड क्षेत्रमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउन आग्रह गरेका छन्।
शुक्रबार पठाइएको पत्रमार्फत शाहीले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा सहज बनाउन कर्णाली करिडोरलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो प्रस्ताव अघि सारेका हुन्।
उनले उक्त योजनालाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेट्नसमेत सुझाव दिएका छन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार रहेका शाहीले पूर्वाधार विकासमार्फत धार्मिक मार्गलाई छोटो र सहज बनाउन सकिने सम्भावनातर्फ ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

