अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
राजविराज,
मंसिर २९ गते,
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै राजविराजमा जारि रिले अनसनमा ऐक्यबद्धता जनाउनेदेखी लिएर सोही अनसनमा बस्नेहरुको क्रम बढ्दो गएको छ । जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गठित संघर्ष समितिको संयोजनमा शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
रिले अनसनको तेश्रो दिन आइतबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका बहालबाला मन्त्रीदेखि राजनीतिक दलका अध्यक्ष तथा विघटित प्रतिनिधिसभाका सदस्यसम्म छन् ।
यसैक्रममा आइतबारको रिले अनसनमा बिघटित प्रतिनिधिसभाको सदस्य रञ्जु ठाकुर, पूर्वमन्त्री उमेशप्रसाद यादव तथा संविधानसभा सदस्य रञ्जित कर्ण पनि सहभागि भएका छन् । यस्तै मविव क्याम्पस राजविराजका सभापति रन्जित कुमार यादवसँगै स्ववियुका अन्य पदाधिकारीहरु समेत ऐक्यबद्धता जनाउँदै अनसन बसेका छन् ।
अघिल्लो दिन शनिबार उक्त मागको समर्थनमा मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव रिले अनसनमा बसेका थिए । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले अनसनप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार केहीबेर अनसन समेत बसेका थिए ।
जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
