साँसदहरुमाथि हातपात गर्ने मधेश प्रदेशसभाका १३ कर्मचारी हटाईए, केही स्थायीलाई स्पष्टिकरण

जनकपुर 

मंसिर १२ गते,

मधेश प्रदेशसभामा महाभियोग दर्ता प्रक्रियाका दौरान देखिएको तनावपछि १३ जना करार कर्मचारीलाई पदमुक्त गरिएको छ। तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको पद तथा आचरणविरुद्धको कार्य (महाभियोग) प्रस्तावको समयमा प्रतिपक्षी सात दलीय गठबन्धनलाई प्रक्रियागत रुपमा असहयोग गरेको र सांसदहरूमाथि हातपातमा संलग्न भएको आरोपमा उनीहरूलाई हटाइएको हो।

उपसभामुख हरिष्मा राउतका अनुसार महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रतिपक्षी सांसदहरूमाथि हातपात भएको घटनामा तत्कालीन सभामुखलाई सहयोग गरेका करार कर्मचारीलाई सातदलीय गठबन्धनको निर्णयअनुसार बर्खास्त गरिएको हो। “सभामुखको निजी सचिवालय बाहेकका करार कर्मचारीलाई हटाइएको छ,” उपसभामुख राउतले बताइन्। सचिवालय स्रोतका अनुसार तत्कालीन सभामुख मण्डलका प्रमुख स्वकीय सचिव, उनका नातेदार रमेश मण्डल, स्वकीय सचिव धिरेन्द्र मण्डल र सतिश साह, कम्प्युटर अपरेटरलगायतका करार कर्मचारी सभामुखको राजीनामासँगै पदमुक्त भएका छन्। साथै कार्यालय सहयोगी दीपक मण्डल, विश्वनाथ यादव र एक चालक सहित जम्मा १३ जना करार कर्मचारी हटाइएका हुन्।

४–५ जनामाथि अझै अनुसन्धान भइरहेको उपसभामुख राउतले जानकारी दिइन्। उनका अनुसार स्थायी दरबन्दीमा रहेका पाँच जनासँग स्पष्टीकरण मागिएको छ। स्पष्टीकरण सोधिएका कर्मचारीमा सचिव होमनाथ पहाडी, उपसचिव विपिन ठाकुर, उपसचिव सुरेन्द्र कुमार कर्ण, कानुन अधिकृत अञ्जुकुमारी न्यौपाने र नासु विजेन्द्र यादव रहेका छन्। उपसभामुख राउतले भनिन्, “महाभियोग प्रस्ताव दर्तादेखि सांसदलाई पदमुक्त गर्ने प्रक्रियासम्म संलग्न भएको आरोपमा करार कर्मचारीलाई हटाएका हौं र स्थायी कर्मचारीसँग स्पष्टीकरण सोधेका छौं। अब सातदलीय गठबन्धनको बैठक बसेर आगामी कदम तय हुनेछ।”

उनका अनुसार संसदीय मर्यादा उल्लंघन गर्ने, प्रतिपक्षमाथि हातपातमा संलग्न हुने तथा तत्कालीन सभामुखको निर्देशनमा विवादास्पद गतिविधि गर्ने कर्मचारीलाई कारबाहीका लागि पहिचान गरिएको हो। “सभामुख पदमा नरहेपछि उनका मान्छेले स्वयम् पद छोड्नुपर्ने हो,” उनले भनिन्।