सिराहाको सुखीपुर- ६ का वडाध्यक्षकाे निधन 

सिरहा 

कार्तिक ९ गते,

सिराहाको सुखीपुर नगरपालिका– ६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । करिब एक हप्ताअघि चितवनको भरतपुरमा उपचार गराएर घर फर्किएका ५० वर्षीय साहको शनिबार राति सुखीपुर- ६ बडहरीस्थित आफ्नै निवासमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहको पहिलो कार्यकालमै मिर्गौलासम्बन्धी समस्या देखिएका साहको उपचारको क्रममा पित्तथैलीमा क्यान्सर रहेको पत्ता लागेको थियो । त्यसपछि परिवारजनले चितवनको भरतपुरलगायत विभिन्न ठाउँमा लगेर उपचारसमेत गराए पनि बचाउन नसकिएकाे नगरप्रमुख यादवले बताए ।

स्थानीय तहको पुनर्संरचनापछि ०७४ सालमा भएको पहिलो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले पराजित गरी नेकपा एमालेबाट वडाध्यक्ष जितेका साह ०७९ सालको निर्वाचनमा पुन: निर्वाचित भएका थिए । ‘जनताको बिचमा लोकप्रिय वडाध्यक्ष साहले दोहोर्‍याएर निर्वाचन जित्नुभयो, तर क्यान्सरलाई जित्न सक्नुभएन,’ वडासदस्य चन्देश्वर यादवले भने ।

वडाध्यक्ष साहका दुई छोरीमध्ये ठुली छोरी अध्ययनको क्रममा विदेशमा रहेको र घरमा श्रीमती सुनिताकुमारी महतो र कान्छी छोरी बस्दै आएको आफन्तले बताए । मृतक वडाध्यक्षको उनकै घरमा अन्तिम श्रद्धाञ्जली दिएर स्थानीय गागन खोलामा दाहसंस्कार गरिने नगरप्रमुख यादवले जानकारी दिए ।