५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई करिब १३ लाख हाराहारीको सहायक सामाग्री वितरण

काठमाडौँ 

कार्तिक १ गते,

विभिन्न कारणले अपाङ्गता हुदाँ अपाङ्गता भएका व्यक्तिहरु विभिन्न सहायक सामाग्रीहरुको सहायताले आफ्नो जीवन चलाउने विषयलाई महसुस गरेर राष्ट्रिय अपाङ्ग कोष र लाइन्स इन्टरनेशनल ३२५ एफ नेपालले करिब १३ लाख हाराहारिको सहायक सामाग्री ५२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेका छन् ।
शुक्रबार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा लायन्स डिस्टृक्ट ३२५ एफ अन्तर्गतका विभिन्न क्लवहरु (लाइन्स क्लब अफ काठमाण्डौँ क्यापिटल, लाइन्स क्लब अफ काठमाण्डौँ लाइफ कियर र अन्य) र राष्ट्रिय अपाङ्ग कोषको संयुक्त आयोजनामा करिब ५९ वटा सहायक सामाग्रीहरु वितरण गरिएको हो ।
लाइन्स इन्टरनेशनल ३२५ एफ नेपालका डिस्टृक्ट गभर्नर लायन केशर बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको उक्त वितरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराई, लाइन्स क्लबका प्रतिनिधि किशोर भक्त श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहायक सामाग्री वितरण गर्नुहुदै लाइन्स इन्टर्नेशनल ३२५ एफ नेपालका डिस्टृक्ट गभर्नर केशर बहादुर भण्डारीले लाइन्स क्लबले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायक सामाग्री वितरण गर्दै आइरहेको र त्यसलाई निरन्तरता दिदै अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा थप सहयोग पुगोस् भनेर यस पटक पनि उच्चस्तरका सामाग्रीहरु वितरण गरिएको दाबी गर्नुभयो ।
त्यस्तै राष्ट्रिय अपाङ्ग कोषका सभापति डेकराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सहयोग सामाग्री वितरणमा अपाङ्ग कोषको अभियानमा साथ दिएकोमा लाइन्स क्लबलाई धन्यवाद दिनुभयो ।
राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव भिमा खतिवडाका अनुसार कोषको करिब ५ लाख र लाइन्स क्लबको करिब ८ लाख सहयोगमा सहायक सामाग्रीहरु वितरण गरिएको बताउनुभयो ।