९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा जेल गए

काठमाडौँ 

असोज २९ गते,

 ९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतको आदेशपछि महरालाई बुधबार दिउँसो केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो। अदालतका अनुसार, महराविरुद्ध संगठित अपराध र भन्सार छलीको आरोपमा पूरक अभियोग दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले साढे ८ करोड रुपैयाँ बिगो र तीन वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको थियो।

अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महराविरुद्ध प्रारम्भिक प्रमाणहरू पर्याप्त रहेको ठहर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘प्रतिवादी महरा हालका प्रमाणका आधारमा निर्दोष ठहरिने अवस्था छैन। थप प्रमाण संकलनका क्रममा रहेकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार थुनामा राखी पुर्पक्ष गर्न आवश्यक देखिन्छ।’

अदालतको आदेशमा महराले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेललाई फोन सम्पर्क गरी सुन तस्करीमा हस्तक्षेप गर्ने प्रयास गरेको पुष्टि गरिएको छ। सो क्रममा महराका छोरा राहुल (रेशम) महराले पनि सोही विषयमा फोन र भनसुन गरेको प्रमाण देखिएको अदालतले उल्लेख गरेको छ।

त्यस्तै, चिनियाँ नागरिक दावाजिङ वाङसँग महराको नियमित सम्पर्क, फोन कल डिटेल, र उनका परिवारका सदस्यहरूको पनि संलग्नता देखिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले यी सबै प्रमाणका आधारमा महरा ‘सुन भन्सार छली र तस्करीको योजनामा प्रत्यक्ष संलग्न’ रहेको ठहर गरेको हो।