भारतले पेट्रोल र डिजेलमा निर्यात शुल्क घटायो
काठमाडौँ । भारत सरकारले पेट्रोल, डिजेल तथा एभिएसन टर्बाइन फ्युल (एटीएफ)मा लाग्दै आएको निर्यात शुल्क घटाउने निर्णय गरेको छ । भारतीय सरकारले शनिबार जारी गरेको सूचनाअनुसार नयाँ व्यवस्था १ जुनदेखि लागू हुनेछ ।
इन्धन निर्यातलाई सहज बनाउने तथा अन्तर्राष्ट्रिय बजारको अवस्थालाई ध्यानमा राखेर निर्यात शुल्क घटाइएको जनाएको छ । पेट्रोलमा निर्यात शुल्क १.५ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेलमा १३.५ रुपैयाँ प्रतिलिटर कायम गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै, एटीएफ (एभिएसन टर्बाइन फ्युल) मा ९.५ रुपैयाँ प्रतिलिटर निर्यात शुल्क निर्धारण गरिएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्क हरेक दुई सातामा परिवर्तन हुने व्यवस्था कायम गरेको छ । कच्चा तेल, पेट्रोल, डिजेल तथा एटीएफको विश्वव्यापी औसत मूल्यलाई आधार बनाएर यी दरहरू निर्धारण गरिनेछ ।
सामान्यतया, सरकारले प्रत्येक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको समीक्षा गर्छ र त्यस पेट्रोल, डिजेल र एटीएफमा निर्यात शुल्क निर्धारण गरिन्छ । .
