भारतीय गाडी प्रयोग गरेर गाँजा ओसारपसार, ९६ किलोसहित एक जना नियन्त्रणमा
काठमाडौँ । भरतपुर वडा नम्बर १९ चैकी डाँडाबाट चितवन प्रहरीले भारतीय गाडीमा लुकाएर लैजान लागेको झण्डै एक क्वीन्टल गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भारतीय नम्बर प्लेटको पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा ९६ केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ परेका गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहीबार दिउसो करिब १:३० बजे बीआर ०१ पीई ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो ।
चेकजाँचका क्रममा उक्त गाडीको सिट मुनि फल्स बटम (लुकाउनका लागि बनाइएको विशेष ठाउँ) फेला परेको र सो भित्र लुकाएर राखिएको ३० प्याकेट गाँजा बरामद गरिएको जनाएको छ ।
बरामद गरिएको गाँजाको कुल तौल ९५ किलो ९६५ ग्राम रहेको प्रहरीले जनाएको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल बजार मूल्य ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ बराबरको रहेको जनाइएको छ।प्रहरीले गाँजा र ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीका अनुसार यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको छ।
