भारतीय गाडी प्रयोग गरेर गाँजा ओसारपसार, ९६ किलोसहित एक जना नियन्त्रणमा

काठमाडौँ । भरतपुर वडा नम्बर १९ चैकी डाँडाबाट चितवन प्रहरीले भारतीय गाडीमा लुकाएर लैजान लागेको झण्डै एक क्वीन्टल गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भारतीय नम्बर प्लेटको पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा ९६ केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ परेका गरेको हो ।

​जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहीबार दिउसो करिब १:३० बजे बीआर ०१ पीई ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो ।

चेकजाँचका क्रममा उक्त गाडीको सिट मुनि फल्स बटम (लुकाउनका लागि बनाइएको विशेष ठाउँ) फेला परेको र सो भित्र लुकाएर राखिएको ३० प्याकेट गाँजा बरामद गरिएको जनाएको छ ।

बरामद गरिएको गाँजाको कुल तौल ९५ किलो ९६५ ग्राम रहेको प्रहरीले जनाएको छ। ​गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका वडा नं. ३, पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल बजार मूल्य ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ बराबरको रहेको जनाइएको छ।​प्रहरीले गाँजा र ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रहरीका अनुसार यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको पनि खोजी कार्य भइरहेको छ।