पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा
काठमाडौँ
फागुन १ गते,
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि पर्व मनाउनका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढ्न थालेको छ । महाशिवरात्रिका लागि कोषले सम्पूर्ण व्यवस्थापन कार्य पनि उच्च प्राथमिकताका साथ गरेको आज कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
महाशिवरात्रि पर्व सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको छ । मन्त्रीको अध्यक्षतामा गठन गरिएको १७१ सदस्यीय मूल समारोह समितिले पनि सक्रियरुपमा काम गरिरहेको छ । मन्त्री सिन्हाको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको छ । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएको छ । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले सुनाए। यसपटक महाशिवरात्रि पर्व उल्लासमय वातावरणमा मनाइँदैछ। पशुपति क्षेत्र फूल र बत्तीले आकर्षक रूपमा सिँगार्न थालिएको छ ।
नेपाल, भारत, भुटान, बंगलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्था गर्नका लागि आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय भएको उनले बताए। कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसै अनुरूप काम गरिएको छ । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ । भगवान्को दर्शन गर्न लामो समय प्रतीक्षा गर्न नपर्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि महाशिवरात्रिकै लागि प्रभावकारी बनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षा निकायसँगै कोषको आफ्नो सुरक्षा टोली पनि पशुपति क्षेत्रमा खटाइएको छ । दर्शनार्थीको सुरक्षामा विशेष ध्यान दिइएको छ । साधुसन्त, महन्थ र भक्तजनको सुरक्षा गर्दै अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
