सुदृढ प्रहरी संगठन निर्माणमा रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौँ 

माघ २५ गते,

सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि आज नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मेलन उद्घाटन गर्दै यस्ता कार्यक्रमले प्रहरीको मनोबल उच्च राख्न र संगठनलाई सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

गृहमन्त्री अर्यालले भने, ‘जेन–जी प्रदर्शनका कारण भौतिक र मानसिक रूपमा कमजोर बनेका प्रहरीको मनोबल बढाउन यस्ता सम्मेलन महत्त्वपूर्ण छन्। आमनागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ। सम्मेलनबाट आएका सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको पूर्ण साथ रहनेछ।’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनको उद्देश्य प्रविधि प्रयोगमा सुधार र बढ्दो अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनु रहेको बताए। उनले भने, ‘परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध र अन्तर्राष्ट्रिय अपराधले मुलुक र समाज जटिल हुँदै गएको छ। यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ।’

दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीति र कदमबारे गहन छलफल हुने प्रहरीले जनाएको छ।