शान्तिका लागि मतदान गर्न आम मतदातासँग प्रधानमन्त्री कार्कीको आग्रह

नवलपुर

माघ २० गते,

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा शान्तिका लागि मतदान गर्न आम मतदातासँग आग्रह गरेकी छन्। नवलपुरको हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन तथा स्थानीयसँगको अन्तर्क्रियाका क्रममा उनले यस्तो आग्रह गरेकी हुन्।

समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी प्रधानमन्त्री कार्कीले यो निर्वाचन नियमित नभई विशेष प्रकृतिको भएको सुनाइन्। स्थानीय समुदाय, शिक्षक तथा अभिभावकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले व्यक्तिको हारजितभन्दा माथि उठेर देशलाई जिताउनुपर्ने बेला आएको उल्लेख गरिन्।

‘यो चुनाव नियमित चुनाव होइन, यो विशेष चुनाव हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरू शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो, पहिला देशलाई जिताऊँ।’

उनले देशको शान्ति र रूपान्तरणका निम्ति सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्नेमा जोड दिए। मुलुकमा शान्ति सुव्यवस्था कायम भए सबैले अवसर पाउने उनको भनाइ थियो। ‘शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरू पनि सबैले पाउलान्,’ उनले थपिन्।