“निर्वाचन पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रस्तुत गर्ने अवसर”: भानुभक्त ढकाल

विराटनगर
माघ २० गते,

नेकपा एमालेका सचिव भानुभक्त ढकालले आसन्न निर्वाचनलाई पार्टीको नीति, सिद्धान्त र भावी दिशालाई जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। 

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचन अभियानले पार्टी गतिविधिलाई पुनः गतिशील बनाएको र कार्यकर्तामा नयाँ उत्साह थपिएको धारणा व्यक्त गरे।

उनका अनुसार निर्वाचन केन्द्रित कार्यक्रमले संगठनलाई पुनः सक्रिय बनाउँदै नयाँ ढंगले व्यवस्थापन र परिचालन गर्न सहयोग पुर्‍याएको छ। पार्टीको महाधिवेशनपछि नेतृत्वमा परिवर्तन नभएको भन्ने आलोचनालाई सम्बोधन गर्दै ढकालले एमालेले लोकतान्त्रिक प्रक्रियामार्फत नीति र नेतृत्वसम्बन्धी विषयहरू पहिल्यै व्यवस्थापन गरिसकेको स्पष्ट पारे।

भदौ २३ र २४ गतेका घटनाक्रम तथा त्यसपछि सामाजिक सञ्जालमा उठेका बहसप्रति टिप्पणी गर्दै उनले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा युवाहरूबाट सुरु भएको ‘जेन जेड’ अभियानमा बाह्य प्रभावमार्फत हस्तक्षेप भएको आरोप लगाए। उनका अनुसार संविधान खारेजीजस्ता अराजक मागहरू अघि सारेर राष्ट्रिय हितको पक्षमा उभिएको एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको भूमिकालाई कमजोर पार्ने प्रयास गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तेह्रथुम जिल्लाबाट उम्मेदवार रहेका ढकालले आफ्नो जन्मथलोप्रति उत्तरदायी भएर विकास र समृद्धिको नेतृत्व गर्ने प्रतिबद्धता दोहोर्‍याए। यसअघि समानुपातिक प्रणालीबाट संसदमा प्रतिनिधित्व गर्दै जिल्लाको सेवा गरिसकेको उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचित भई अधुरा योजनाहरू सम्पन्न गर्ने र नयाँ विकास सम्भावनाहरू अघि बढाउने लक्ष्य लिएको बताए।

तेह्रथुम जिल्लाले अपेक्षित विकास गति लिन नसकेको स्वीकार गर्दै ढकालले योजनाबद्ध पहलमार्फत जिल्लाको समग्र रूपान्तरण र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न आफू दृढ रहेको धारणा व्यक्त गरे।