‘तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले आवश्यक माहोल तयार गरिसकेको छ’ : गृहमन्त्री अर्याल
जनकपुर
पुष ३० गते,
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जेड आन्दोलनपछि देशमा अभिभावकीय भूमिका निर्वाह गर्ने अवस्था नरहेकाले गैर दलीय नागरिक सरकार गठन भएको स्पष्ट पारेका छन्।
उनले वर्तमान सरकारको प्रमुख दायित्व सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनु पर्ने बताए। मधेश प्रदेश सरकार, गृह मन्त्रालय तथा प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा बुधवार आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्दै गृहमन्त्री अर्यालले भदौ २३ र २४ गते घटेका घटनापछि उत्पन्न परिस्थितिका कारण वर्तमान सरकार गठन भएको उल्लेख गरे। जेन जेड पुस्ताको आन्दोलन र तत्कालीन दलीय सहमतिका आधारमा अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनेको अवस्था उनले स्पष्ट पारे।
गृहमन्त्री अर्यालले नागरिक सरकार भएकैले नागरिक र युवापुस्ताको जनभावनाअनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको बताए। उनले सरकारले निष्ठा र इमानदारिताबाट किञ्चित पनि पछि नहट्ने दाबी गरे।
कार्यक्रममा विशेष अतिथिका रूपमा मन्तव्य राख्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गोष्ठीले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न र आगामी निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन थालेको धार्मिक साम्प्रदायिकता, जेन जेड आन्दोलनपछिका घटनामा भौतिक पूर्वाधारमा भएको क्षति, लुटिएका हतियार तथा फरार कैदी बन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गर्दै साझा धारणा निर्माण गर्ने बताए। उनले प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै ‘प्रदेशसँग आफ्नै प्रहरी छैन’ भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको र सङ्घीय प्रहरी प्रदेशको आफ्नै हुन नसकेको अवस्थाप्रति टिप्पणी गरे।
यस्तै, मधेश प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै प्रहरी समायोजन प्रक्रिया अघि बढ्न नसक्दा प्रदेश संरचनाभित्र अदृश्य रूपमा सुरक्षा चुनौती थपिँदै गएको बताए। स्वच्छ नियमनका दृष्टिले खुला सिमाना चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै मन्त्री महतोले जिल्ला प्रहरी, प्रदेश प्रहरी र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले गोष्ठीले सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानका उपाय खोज्न फलदायी हुने विश्वास व्यक्त गरे।
