धनुषाको घटनालाई लिएर वीरगँजमा निषेधाज्ञा लगाइयो

काठमाडौँ 

पुष २१ गते,

पर्साको वीरगञ्जमा सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू गरिएको छ। आदेश उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

मस्जिद तोडफोड र आगजनीको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए। यता, हिन्दू मन्दिर तथा देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि सडकमा उत्रिएका थिए।

दुवै पक्षको प्रदर्शनबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ। प्रशासनले वार्तामार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको जानकारी पनि दिएको छ।