मधेशमा तनाव बढेपछि गृहमन्त्रीद्वारा मुस्लिम अगुवाहरूसँग छलफल
काठमाडौँ
पुष २० गते,
मधेशमा धार्मिक तनाव बढेपछि गृहमन्त्री ओमप्रकाश अर्यालसँग मुस्लिम समुदायका अगुवाहरूसँग छलफल गरेका छन् । भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आइतबार गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले एक अर्काको धर्म र सम्प्रदायमाथि खलल पु¥याउने जो कोहीलाई सरकार र गृह प्रशासन तुरुन्त कारबाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताए। मुस्लिम समुदायका सदस्यहरूले बुझाएको ज्ञापनपत्रको सम्बन्धको सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री अर्यालले प्रदेश र जिल्लातहमा धार्मिक आस्था र सहिष्णुता कायम गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको हुँदा सबै धर्म र सम्प्रदायले अहिले उत्तिकै ख्याल गर्दै आफ्ना गतिविधिलाई संयमित गर्नु पर्नेमा जोड दिए।
शान्ति सुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउँदै गृहमन्त्री अर्यालले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेलेमा समुदाय र धर्म विशेषका आधारमा हुन सक्ने साम्प्रदायिकतालाई समय अगावै नियन्त्रण गर्न सकिने उनको भनाई थियो।
भेटका राष्ट्रिय मुस्लिम समन्वय समितिबाट मोहम्मद युनुस अहमर (हास्मी), मौलाना मजरुल हसन, सीमा खान, मौलाना खुसिद आलम र ताज मोहमद मियाँ, जमियाद उलमाह नेपालका तर्फबाट प्रतिनिधिहरुबाट राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, कल्पना मियाँ, नेपाल हज कमिटिका अध्यक्ष मोख्तर अहमद, ताज मोहम्मद मियाँ, र मोहम्मद फलाउ उल्लाह र सङ्घीय लोकतान्त्रिक गठबन्धनको तर्फबाट मोहम्मद रिजवान अन्सारी, विमला अन्सारी लगायतका थिए। उनीहरुले मुस्लिम समुदायमा बढ्दै गइरहेका केही असामाजिक, धार्मिक सहिष्णुता भड्कने खालका गतिविधि र आगामी फागुन २१ गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिन सक्ने वातावरण तर्फ समुदायका प्रतिनिधिहरूले मन्त्री अर्यालको ध्यानाकर्षण गराएका थिए।
टिकटकबाट सुरु भएको विवादले जनकपुरमा मस्जिद तोडफोड भएपछि तराईमा तनाव बढेको छ। वीरगन्जमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। मधेशका आठै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सामाजिक सदभाव कायम राख्न सुरक्षा निकायले सबै पक्षलाई आग्रह गरेको छ।
