नयाँ वर्ष मनाउन पर्यटक ओइरिएपछि गुल्जार बन्यो पोखरा
पोखरा
पुष १७ गते,
अधिकांश पर्यटक अंग्रेजी नयाँ वर्ष २०२६ मनाउनुका साथै घुम्न पोखरा आएका हुन् । यही अवसरमा पोखरामा ‘सडकमै खाऔँ, सडकमै नाँचौँ र सडकमै रमाऔँ’ भन्ने नारासहित फेवाताल किनारमा २७औँ संस्करणको पोखरा सडक महोत्सव २०२६ जारी छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको महोत्सव १७ पुससम्म चल्नेछ ।
नयाँ वर्ष मनाउन आन्तरिक एवं बाह्य पर्यटकका कारण पोखरा र आसपासका होटेल भरिभराउ भएका छन् । होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार तीन दिनअघि पोखराका होटेलको अकुपेन्सी ६५ प्रतिशत रहेकोमा बुधबार साँझसम्म आइपुग्दा बढेर करिब ९५ प्रतिशत पुगेको छ । यस क्षेत्रका होटेलको बेड क्षमता करिब ४० हजारको हाराहारीमा छन् ।
हाल पोखराका होटेलहरूमा १५ हजारको हाराहारीमा विदेशी, १३ देखि १४ हजार भारतीय र करिब नौ हजार आन्तरिक पर्यटक रहेको उनले बताए । पोखरा र आसपासका क्षेत्रमा अहिले दुई लाख पर्यटक रहेको व्यवसायीहरू बताउँछन् ।
