मधेशमा थपिए ६ जना मन्त्री, मधेश सरकारले पायो पूर्णता
जनकपुर
पुष १७ गते,
मधेश प्रदेशका नवनियुक्त छ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मधेश प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त भएका मन्त्रीहरूमा मनिष कुमार सुमन (श्रम तथा यातायात), राजकुमार गुप्ता (भौतिक पूर्वाधार तथा विकास), शंकर प्रसाद चौधरी (वन तथा वातावरण), श्याम प्रसाद पट्टेल (भूमि व्यवस्था, कृषि तथा सहकारी), बसन्त कुसवाहा (खेलकुद तथा समाज कल्याण) र फकिरा महतो (गृह, सञ्चार तथा कानून) रहेका छन्।
समारोहमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, सभामुख रामअशिष यादव, प्रदेश सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
शपथग्रहणसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका सबै १२ मन्त्रालयले नेतृत्व पाएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले पूर्णता पाएको बताए।
