बिष्णुपुर गाउँपालिका बालविवाह मुक्त पालिका घोषणा

राजविराज 

पुष १३ गते,

सप्तरीको बिष्णुपुर गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाको प्राङ्गणमा आइतबार आयोजित एक समारोहका वीच मधेश प्रदेश तथा जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा गरिएको हो ।  कार्यक्रममा पूर्व  सिंचाइ मन्त्री उमेश कुमार यादवले तुल ब्यानर वाचन गर्दै र गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले घोषणा पत्र वाचन गरी संयुक्त रुपमा बालविवाह मुक्त गाउँपालिका घोषणा गरे ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री यादवले बालविवाहले जीवन नष्ट गर्नुका साथै स्वास्थ्य, शिक्षा र रोजगारीमा समेत नकारात्मक प्रभाव पार्ने बताए । उनले २० वर्ष उमेर पूरा नगरी विवाह नगर्न र नगराउन सबैलाई आग्रह गरे । हरेक समुदायले बालविवाह निरुत्साहित गरी बालविवाह मुक्त समाज निर्माणमा जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

गाउँपालिकाका अध्यक्ष यादवले पालिकाभित्रका सबै वडामा २० वर्ष उमेर पूरा नगरी विवाह भएको नपाइएको र बालविवाह मुक्त वडा घोषणाका लागि आवश्यक ९० प्रतिशत सूचक पूरा भएपछि बिष्णुपुर गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरेको बताए । गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष लोचन साह,  १ का वडाध्यक्ष भोगेन्द्र यादव,  ५ का वडा वडाध्यक्ष जिवछ मण्डलगाउँपालिका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता, सिनियर प्रोजेक्ट संयोजक मकर बहादुर सार्की, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, फरजना खातुन लगायतले बालविवाह कानुनी अपराध भएको बताए ।