‘निर्वाचन दूत’को दौडधुप, ओलीको स्थानहद हट्न सक्ने 

काठमाडौँ 

पुष १२ गते,

चुनावी संशय हटाउने उद्देश्यसहित सरकारका ‘निर्वाचन दूत’का रूपमा सक्रिय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्  । प्रधानमन्त्री सुशीला कार्कीको सन्देश बोकेर भेट गरेका मन्त्रीले एमाले अध्यक्ष केपी ओलीको स्थानहद हटाएर चुनावका लागि विश्वासिलो वातावरण बनाउन सकिने संकेत दिएका छन् । प्रधानमन्त्री कार्कीले चुनावी वातावरण बनाउनकै लागि छलफल गर्न लागेको सन्देश बोकेर खरेल शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका थिए ।

ओलीसँग गुनडुस्थित निवासमा भेट गरेपछि खरेलले सरकार सबै प्रकारका अल्झन, बल्झन, अप्ठ्यारा र चुनौती हटाउँदै निर्वाचनको गन्तव्य सुनिश्चित गर्ने तयारीमा रहेको बताए । ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूले स्थानहद हटाउने मागबारे सरकारको धारणा के हो भन्ने प्रश्न गर्दा मन्त्री खरेलले सरकारले त्यसतर्फ सोचिरहेको स्पष्ट संकेत गरे । ‘निर्वाचन महायज्ञ हो । यसको आसपास रहेका अल्झन, बल्झन, अप्ठ्यारा, चुनौती र समस्याहरू हटाएर निर्वाचनको गन्तव्यमा पुग्ने वातावरण बनाउने दायित्व सरकारको हो,’ खरेलले भने ।

एमालेजस्तो प्रमुख दलका अध्यक्षले चुनावी वातावरण र सुरक्षा चुनौतीबारे सुझाव दिनु स्वाभाविक र सकारात्मक भएको भन्दै सरकार त्यस्ता सुझाव स्वीकार गर्दै वातावरण निर्माणमा केन्द्रित हुने स्पष्ट पारे । ‘एमालेजस्तो महत्वपूर्ण दलको अध्यक्षले नै सुरक्षा चुनौती छ, चुनावी वातावरण बनाइनुपर्छ भन्नुभएको छ भने त्यो जायज कुरा हो,’ उनले भने, ‘निर्भय र निष्पक्ष चुनावका लागि सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।’

मन्त्री खरेलले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमा भेटेका थिए । त्यसपछि उनले एमाले अध्यक्ष ओली र अन्त्यमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको प्राथमिकता संसद् पुनर्स्थापना नभएर चुनाव भएको प्रस्ट्याएको र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि २१ फागुनको चुनावको विकल्प नभएकाले सघाउने प्रतिबद्धता जनाएको खरेलको दाबी छ ।

‘शेरबहादुर देउवाले कांग्रेसको प्राथमिकता निर्वाचन नै हो, संसद् पुनर्स्थापना होइन भन्नुभएको छ,’ खरेलले भने, ‘कांग्रेसले निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रचण्डले पनि निर्वाचनको विकल्प नभएकाले जसरी पनि २१ फागुनमै चुनाव हुनुपर्छ भन्ने दोहोर्‍याउनुभएको छ ।’