राजविराजमा आलमले माफी मागेपछि आन्दोलन स्थगित
राजविराज
पुष ११ गते,
हिन्दु धर्म विरुद्ध आपत्तिजनक टिप्पणी गर्ने अफरोज आलमले सार्वजनिक रुपमा माफी मागेपछि हिन्दु सम्राट सेना तथा बजरङ्ग दलद्वारा जारी सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार भएको बार्तामा आलमले सार्वजनिक रुपमा माफी मागेपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीद्वारा जारी आन्दोलन स्थगित गरेको हो ।
आलमलाई सार्वजनिक रुपमा माफी मगाउने, जारी आन्दोलनका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने, कसैको धर्म संस्कृतिलाई आघात पुर्याउने टिक्का टिप्पणी सामाजिक संजाल वा कुनैपनि माध्यमबाट नगर्ने तथा यस्तो गरिएको पाइएमा कानूनी कारबाहीमा जाने लगायतका विभिन्न निर्णय पछि आन्दोलन स्थगित गरिएको हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले बताए । आलमले सिडिओ कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा माफी माँगेको उनले जानकारी दिए ।
आलमलाई कारबाहीको माग गर्दै हिन्दु सम्राट सेना तथा बजरङ्ग दलले बिहीवार राजविराजको मुख्य चौक र सडकमा टायर बालेर दिनको १ बजेदेखि ५ बजेसम्म विरोध प्रदर्शन गरेका थिए ।
राजविराज नगरपालिका १ रहमतपुर निवासी आलमले श्रीकृष्ण प्रति लक्षित गरि सामाजिक संजाल मार्फत अत्यन्तै अश्लील,अपमानजनक,र घृणायुक्त अभिव्यक्ति दिएको बजरङ्ग दल र हिन्दु सम्राट सेनाको आरोप छ ।
