चुनाव ‘अल्टिमेट रिजल्ट’ होइन, आन्दोलनको माग सम्बोधन हुनुपर्छ : सागर ढकाल

काठमाडौँ 

पुष ७ गते,

जेन–जी प्रतिनिधि सागर ढकालले आन्दोलनको म्यान्डेटअनुसार चुनाव हुनुपर्ने बताएका छन्। प्रधानमन्त्रीले सिंहदरबारमा आयोजना गरेको सर्वपक्षीय छलफलमा ढकालले जेन–जीको माग पूरा नगरी हुने चुनावको औचित्य नरहेको धारणा राखे।

जेन–जीको मागअनुरूप चुनाव हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘फेरि जस्ताको तस्तै गराउनका लागि किन चुनाव गराउने हो र ? केही त परिवर्तन गर्नुपर्‍यो। जेन–जीको आन्दोलनको म्यान्डेट त पूरा गर्नुपर्‍यो नि।’ ७५ वर्षदेखि देशमा आन्दोलन मात्र भएको, तर एउटा स्थिर सरकार नबनेको उल्लेख गर्दै ढकालले चुनाव मात्र अन्तिम परिणाम नभएको प्रस्ट्याए।

‘७५ वर्ष भइसक्यो आन्दोलन भएको भयै। हाम्रो देशमा स्थिरता कसले दिने हो? देशमा विकास कहिले लिएर जाने हो? ७५ वर्षमा हामीले एउटा सरकार स्थायी रूपमा लगेका छैनौँ। पूर्वाधारका आयोजना सबै ठप्प छन्। चुनाव मात्र अल्टिमेट रिजल्ट होइन। जनताले मागेको विकास र सुशासन हो,’ उनले भने।