थाइल्यान्डबाट ल्याएको गाँजासहित विमानस्थलमा दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ
पुष ६ गते,
थाइल्यान्डबाट ल्याएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध चार किलो २८४ ग्राम गाँजासहित भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह आइतबार दिउँसो पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागुऔषध संकलन गर्न आएका भारतीय नागरिक पुनीत शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान थालेको छ।
