लोकसेवा पढने विद्यार्थीहरुले मुख्यमन्त्री यादवलाई दिए चेतावनी
जनकपुर
मंसिर २९ गते,
मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा लोक सेवा आयोगमार्फत लामो समयदेखि विज्ञापन प्रकाशन नभएको भन्दै स्वास्थ्यकर्मी विद्यार्थीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। करिब दुई दर्जन स्वास्थ्यकर्मी विद्यार्थीहरूले आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो गम्भीर असन्तोष व्यक्त गरेका हुन्।
ज्ञापनपत्रमा विगत दुई–तीन वर्षयता मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि कुनै पनि विज्ञापन प्रकाशन नगरेको उल्लेख गरिएको छ। यसका कारण अध्ययन पूरा गरेका तथा अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरूको मनोविज्ञानमा नकारात्मक असर परेको उनीहरूको भनाइ छ। समयमै विज्ञापन नखुल्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको र भविष्यप्रति अन्योल बढ्दै गएको विद्यार्थीहरूले बताएका छन्।
विद्यार्थीहरूको भनाइअनुसार देशका अन्य प्रदेशहरूले स्वास्थ्य क्षेत्रका लागि लोक सेवा आयोगमार्फत नियमित रूपमा विज्ञापन प्रकाशन गरिरहेका छन्। तर मधेश प्रदेश सरकारले यस विषयमा अहिलेसम्म आवश्यक ध्यान नदिएकोप्रति उनीहरूले दुखेसो पोखेका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा विद्यार्थीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै तत्काल लोक सेवा आयोगमार्फत स्वास्थ्य क्षेत्रका पदहरूमा विज्ञापन प्रकाशन गर्न माग गरेका छन्। साथै, प्रदेश सरकारले स्वास्थ्यकर्मी विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार भई स्पष्ट र दीर्घकालीन योजना ल्याउनुपर्ने उनीहरूको आग्रह छ।
मुख्यमन्त्री यादवले ज्ञापनपत्र ग्रहण गर्दै विद्यार्थीहरूको मागप्रति सकारात्मक रूपमा छलफल गरिने आश्वासन दिएको बताइएको छ।
