काठमाडौँको जाम हटाउन बन्द भयो अन्तर-प्रदेश रुट परमिट 

काठमाडौँ

मंसिर २८ गते,

काठमाडौँ उपत्यकामा देखिएको सवारी चाप र अस्तव्यस्ततालाई मध्यनजर गर्दै अन्तर प्रदेश रुट परमिट बन्द गरिएको छ । प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूबाट जारी हुँदै आएको अन्तर-प्रदेश बाटो इजाजत (रुट परमिट) मा पूर्ण रूपमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो ।

निर्णय कार्यान्वयनमा आएसँगै अबदेखि प्रदेश सरकारका यातायात मन्त्रालय अन्तर्गत रहेका यातायात कार्यालयहरूले आफ्नो प्रदेश भित्र मात्रै सार्वजनिक सवारी साधनको बाटो इजाजत दिन पाउने छन् । यसअघि विभिन्न प्रदेशका कार्यालयहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अन्तर(प्रदेश रुट परमिट जारी गर्दै आएका थिए ।

यातायात व्यवस्था विभागका अनुसार अन्तर(प्रदेश जाँच पास तथा रुट इजाजत पत्र जारी गर्ने जिम्मेवारी पूर्ण रूपमा संघीय सरकारको क्षेत्राधिकार भित्र पर्ने छ । अब अन्तर प्रदेश बाटो इजाजत दिनु परे यातायात व्यवस्था विभाग अन्तर्गत रहेका सवारी परीक्षण कार्यालयहरूले मात्र दिन पाउने छन् ।

विभागले यस सम्बन्धमा सबै प्रदेशका यातायात मन्त्रालयलाई अन्तर(प्रदेश रुट परमिट जारी नगर्न परिपत्र गरिसकेको छ । पहिले जारी भएका रुट परमिट पनि तत्काल सच्याउन भनेको छ ।

काठमाडौँ उपत्यकाको ट्राफिक सहज बनाउनका लागि बाहिरबाट उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरूको रुट पनि निश्चित गरिएको छ । नयाँ नियम अनुसार उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरू अब कलंकी-सितापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउनेछन् ।

काठमाडौँ उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि भने विशेष रुट तोकिएको छ । यस्ता सवारी साधनले कलंकी-सातदोबाटो-कोटेश्वर हुँदै बनेपासम्म आउन र जान पाउने छन् ।